हेटौंडा । हेटौंडामा चार्डवार्ड लक्षित बजार अनुगमनको क्रममा मंगलबार २ वटा पसलका सञ्चालक कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आफ्नो पसल व्यवसायको उद्देश्य विपरित खाद्यान्न सामग्री विक्री वितरण गर्ने र बिलबीजक नराख्ने २ वटा पसल कारवाहीमा परेका हुन् ।

उद्देश्य विपरित खाद्यान्न सामग्री विक्री वितरण गर्ने पसललाई नगद १० हजार र बिलबीजक नराख्ने पसललाई ५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी चापागाईको नेतृत्वमा मंगलबार हेटौंडा बजार क्षेत्रका ६ वटा पसल तथा व्यवसायको अनुगमन भएको हो । अनुगमनको क्रममा दुई वटा पसलमा २८३ बोरा चिनी मौज्दात देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले बताए । उनले चिनीलाई बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन समेत दिएको बताए ।

साथै, अनुगमनका क्रममा १ पसलबाट करिब ७ हजार ९३० रुपैयाँ मुल्य बराबरको म्याद नाघेका सामग्रीहरू बरामद गरि नष्ट समेत गरिएको सहायक प्रजिअ चापागाईले जानकारी दिए ।

अनुगमनमा आन्तरिक राजस्व कार्यालय, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडा, जिल्ला प्रहरी कार्यालय, मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।