हेटाैंडा । दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन तथा छलफल कार्यक्रम भएको छ।

दलित महिला संघ मकवानपुरको आयोजना तथा फाउन्डेसन अफ सोसाइटीको सहयोगमा हेटौंडामा बुधबार मानव अधिकार लोकतन्त्र, राजनीतिक, सामाजिक प्रतिष्ठा तथा प्रबन्धको लागि महिला जनप्रतिनिधिहरुको साझा मञ्चको गठन तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वटै वडाको प्रतिनिधित्व गर्दै दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्चको संयोजकमा हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाकी वडा सदस्य संगीता विश्वकर्मालाई चयन गरिएको छ ।

दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले ४० प्रतिशत जनप्रतिनिधि महिला हुनुपर्ने र स्थानीयमा २० प्रतिशत दलित महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था संविधानमै रहेको बताए ।

महिलाहरूको क्षमता विकास र सशक्तीकरणको साथै अर्थपूर्ण सहभागितालाई वृद्धि गर्न मञ्चले काम गर्दै जानुपर्नेमा जोड दिए । उनले मञ्चले गरेको हरेक काममा हेटौंडा उपमहानगरपालिकाको साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बालबालिका तथा महिला विकास शाखा प्रमुख शान्ति विश्वकर्मा , हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा १९ वटै वडाका दलित महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो।