हेटौंडा । शिक्षक हकहित तथा शैक्षिक उन्नयनका लागि भरपर्दो संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन भएको भन्दै यसमा मकवानपुरमा दर्जन बढी शिक्षक आबद्घ भएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा रहेका शिक्षकहरुले पार्टी निकटको संगठनमा आबद्दता जनाएका हुन् ।

शिक्षकको हकअधिकार तथा शैक्षिक विकासका सन्दर्भमा एकीकृत समाजवादीले लिएको नीतिले आफूहरुलाई आकर्षित गरेको भन्दै मकवानपुरका विभिन्न विद्यालयका शिक्षकहरु सम्झनासिंह ठकुरी, समीक्षा लम्साल, करिष्मा परियार, राधिका आचार्य, रामचन्द्र पाठक, रञ्जना दाहाल, ताराकुमारी आचार्य, जीवन तिमल्सिना, लक्ष्मी तिमल्सिना, सम्झना लम्साल, दिपेन्द्र यादव, अप्सरा पण्डित लगायतले प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रोजेका हुन् ।

शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाको अध्यक्षता तथा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथी अध्यक्ष दाहालले नव प्रवेशी शिक्षकहरुलाई पार्टीका तर्फबाट स्वागत गर्दै पेशागत हकहितका लागि उपयुक्त संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन नै उपयुक्त रोजाई भएको बताए । ‘म आफू जीवनको लामो समयसम्म शिक्षकको भूमिकामा रहेकाले पनि शिक्षकका सवालबारे जानकार छु ।’ दाहालले भने,‘तपाईँहरुले आफ्नो अधिकारका लागि ठकी समयमा ठीक संगठन रोज्नुभएकोमा बधाई दिन चाहन्छु ।’

दाहालले मकवानपुर,देशमै शिक्षक आन्दोलन जन्माउने जिल्ला भएको उल्लेख गर्दै पेशागत सुरक्षाका विषयमा संस्थागत रुपमा लागिपर्न पार्टीका तर्फबाट पनि आवश्यक साथ, सहयोग रहने प्रतिबद्घता व्यक्त गरे । विगतमा राजनीतिक आस्थाकै आधारमा जागिर गुमाउनुपर्ने अवस्था अब शिक्षकमा नरहेको भन्दै एकीकृत समाजवादी पार्टीले शिक्षकको हकअधिकारका लागि लड्ने बताए । ‘संख्या धेरै थोरै भन्ने कुरा मुख्य होइन, नीति कस्तो हो, एजेण्डा कति उचित हो भन्ने महत्वपूर्ण विषय हो ।’ उनले भने, ‘अहिले सानो संगठनका रुपमा भएपनि प्रगति हासिल गर्ने दिशामा यो शिक्षक संगठन अगाडी बढी सफलता हासिल गर्न सक्छ भन्नेमा म विश्वस्त छु ।’ प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन राम्रा शिक्षक आबद्घ भएको शिक्षक संगठन भन्नेमा परिचित गराउँदै आफ्नो कार्यमा क्रियाशील रहनका लागि अध्यक्ष दाहालले सुुझाव दिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, शिक्षक संगठनका केन्द्रिय सचिव पुरुषोत्तम आचार्य, पार्टी मकवानपुरका उपसचिव कविन पन्त, किशोर टण्डन, पार्टी हेटौंडा उपमहानगर कमिर्टीका सचिव सफल अधिकारी, अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौला लगायतको आतिथ्यता थियो ।