हेटौंडा । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ स्थापना दिवसका अवसरमा सोमबार हेटौंडामा आयोजित सुशासन, विकास र समृद्धिमा राससको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

पछिल्लो समय सूचना प्रविधिमा भएको विकासले प्रतिस्पर्धा बढाएसँगै पत्रकारितामा चुनौती थपिएको उनको भनाइ छ । उनले २०४६ को परिवर्तनपछि पत्रकारिता क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएको चर्चा गर्दै पछिल्लो समय सूचनाभन्दा गलत सूचना बढी आउने गरेको चर्चा गरे ।

गलत सूचनाले नागरिकमा भ्रम सिर्जना गर्नेगरेको उनले बताए । नागरिकमा अहिले सुशासनप्रतिको भोक बढी रहेको भन्दै सभामुख पाठकले सरकारले उद्योगधन्दा, सञ्चारमाध्यम सञ्चालन गर्नु हुँदैन भन्ने मान्यताको विकास हुँदै गएको सन्दर्भमा राससलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले सञ्चार माध्यमले नागरिक आवाजलाई सशक्त रुपमा उठान गर्नुपर्ने बताए । रासस बागमती प्रदेश कार्यालयका प्रमुख सुरेस झाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटा, पत्रकार कृष्णराम परियार, रामकुमार एलन, मणिराज गौतम, गैसरसकारी संस्था महासङ्घका आरती पाठकलगायतले राससको योगदानको चर्चा गरेका थिए । कार्यक्रम राससकी अञ्चली थापाले सञ्चालन गरेकी थिइन् ।