हेटौंडा । हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा चन्द्रलोक प्रतिष्ठानद्वारा बिहीबार काठमाडौंमा सम्मानित भएकी छन् ।

मेयर लामालाई प्रतिष्ठानले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला हिंसा तथा चेलिबेटी बेचबिखनविरुद्ध योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आयोजित नारी सम्मान कार्यक्रममा नगर प्रमुख लामालाई एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान गरे ।

नगर प्रमुख लामाले समाज र समुदायप्रति उदाहरणीय नेतृत्व प्रदान गरेकोले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले बताए । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र जयन्तीदेवी राईलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३० महिलाहरुलाई सम्मानित गरिएको थियो ।

राष्ट्रिय सम्मानबाट सम्मानित हुन पाउँदा आफूलाई निकै खुसी महसुस भएको बताउँदै नगर प्रमुख लामाले प्रतिष्ठानले गरेको सम्मानको सधैँ कदर हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।