हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म एकसय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ । शुक्रवार हेटौँडामा पत्रकार सम्मेलन गरेर आयोग गठन भए पश्चात मकवानपुरमा एकसय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जानकारी दिएको हो ।

आयोगले मकवानपुरको बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा वितरण गरेको भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए । आयोगले बागमतीका ३५ र बकैयाका ९ गरि ४४ भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको उनले बताए । भूमिहीन दलित तथा सुकुम्वासीको हकमा निःशुल्क जग्गा वितरण गरिएको अध्यक्ष दाहालको भनाई छ ।

आयोगले हेटौँडाका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा वितरण गरेको छ । अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पूर्जा वितरण गर्दै आएको छ । आयोगले अव्यवस्थित बसोबासीबाट २९ लाख ३६ हजार १४० रुपियाँ राजस्व संकलन समेत गरेको छ ।

राष्ट्रिय भूमि आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले तीनसय ४० भूमिहिन दलित, दुइ हजार २६० भूमिहिन सुकुम्बासी, १४ हजार ६५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २५२ निवेदनको तथ्यांक प्रविष्ट गरेको आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईंले जानकारी दिए । जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएर आएको उनले बताए ।

आयोगले हेटौँडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १, २ र ६ को १४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ भने बकैयामा नापनक्सा कार्य भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, आयोगका सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।