हेटौंडा । डिभिजन वन कार्यालय मकवानपुरले वन डढेलो सप्ताहको कार्यक्रमको सुरुवात गरेको छ । वन डढेलो सप्ताह कार्यक्रम अन्तरगत फाल्गुनमा डिभिजन वन कार्यालयको कार्यक्षेत्रका ३ देखि ५ वटा सामुदायिक वन सम्मिलित ४० (चालिस) वटा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । गठन भएको वन डढेलो नियन्त्रण सञ्जालले सामुदायिक वनहरुको समन्वयमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्नेछ ।

वन डढेलो नियन्त्रणको लागि हरित स्वयम् सेवक परिचालनको कार्य समेत गरिरहेको छ । डिभिजन वन कार्यालय मकवानपुर र मातहतका सब डिभिजन वन कार्यालय मार्फत वन डढेलो सचेतना सम्बन्धी स्कुलकार्यक्रम, र्याली, माईकिङ्ग, सञ्चार माध्याम मार्फत सचेतना सामाग्री प्रकाशन तथा प्रशारण कार्यक्रम गरिरहेको छ ।

वन डढेलो जोखिम नियन्त्रणको लागि विभिन्न वन क्षेत्रहरुमा अग्नि रेखा निर्माण तथा मर्मत गर्ने, वन क्षेत्रमा झाडी सफाई लगायतका कार्यहरु मार्फत ज्वलनशील पदार्थहरु हटाउने कार्य समेत जारी रहेको छ ।

यस वर्ष हिउँदे वर्षा कम भएको र अघिल्लो वर्षहरुमा वन डढेलो तुलनात्मक रुपमा कम लागेको कारण वन क्षेत्रमा ज्वलनशील पदार्थहरुको तह बढ्न गई वन डढेलोको जोखिम उच्च भएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र समन्वयमा ८ वटै सब डिभिजन वन कार्यालयको मातहतका सामुदायिक वनहरुमा प्रतिकात्मक डढेलो तथा नियन्त्रित वन डढेलो मार्फत वन डढेलो जोखिम कम गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको छ । साथै डढेलो नियन्त्रण गर्ने सामाग्रीहरुको समेत व्यवस्थापन गरिएको छ ।

वन डढेलो नियन्त्रणको लागि अन्तर निकाय समन्वय गरिएको छ । वन डढेलो नियन्त्रणको लागि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, वन उपभोक्ता समूह, विद्यालय, पत्रकार लगायत सम्पूर्णमा अपिल गरिएको छ ।