हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी वडा नं. ४ सामरीमा शुक्रवार सामरी समवेलको शुभारम्भ गरेको छ । हेटौंडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले दैनिक ६० लाख लिटर पिउनेपानीको धारा खोलेर शुभारम्भ गरिन् । हेटौंडा उपमहानगरपालिकाको वडा नं. २, ४, ५ र १० का लागि खानेपानी पठाउन सामरी समवेलको शुभारम्भ गरिएको हो ।

खानेपानी योजना मार्फत लगभग १० हजार घरधुरी र ६० हजार जनसंख्या लाभान्वित हुनेछन् । बोर्डले दुइसाता लगाएर करिव २५ लाख लगानीमा खानेपानी योजना सम्पन्न गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए । बोर्डले दैनिक २ करोड ६२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएकोमा शुक्रवारदेखि दैनिक तीन करोड २२ लाख लिटर पानी उत्पादन गर्न थालेको बिष्टले बताए । बोर्ड अन्र्तगत हाल २६ हजार ८८९ वटा धारा रहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिका अन्र्तगत वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० गरी ८ वटा वडाको सबै भू–भाग र वडा नं. १, ३, १४, १५, १६, १७, १८ र १९ का केही भू–भागमा बसोबास गर्ने करिव १ लाख ६० हजार नगरवासीलाई सरदर दैनिक ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ । सामरी समवेलको शुभारम्भ भएसंगै दैनिक ६० हजार लिटर पानी थप भएको हो । हाल बोर्डमा १ वटा सतहगत मुहान, डिप बोरिङ्ग ३७ वटा, समवेल १३ वटा र पानी भण्डारण क्षमता ६ हजार ४४९ घनमिटर रहेको छ भने ४७० किलोमिटर पाइप लाइन नेटर्वक रहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक बर्षको फागुन मसान्त सम्म पानी महशुल बिलिङ ८ करोड ८३ लाख २९ हजार मध्येमा ८ करोड ३६ लाख ७४ हजार अर्थात ९४ दमशलव ७३ प्रतिशत उठाउन सफल भएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका निमित्त कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले जानकारी दिए । बोर्डबाट ५३ लाख ७८ हजार पानी महशुल उठाउँन बाँकी रहेकोमा जोखिमयुक्त बक्यौंता १५ लाख रुपैयाँ रहेको सापकोटाले बताए । चालु आवको फागुन मसान्त सम्म ५७ लाख ६ हजार ग्राहकबाट अग्रिम पानीको महसुल बापतको रकम प्राप्त भएको र पेश्की र बेरुजु शुन्य रहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख दोर्जे लामा, हेटौँडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्णसारु मगर लगायतको आतिथ्यता रहेको थियो ।