हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडा स्थित पाथिभरा मन्दिर सँगैं शनिवार विहान छ फिट अग्लो भैरवको मूर्ती अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई लगायतकाले संयुक्त रुपमा भैरवको मूर्ती अनावरण गरेका हुन ।

मूर्ती अनावरण पश्चात बोल्दै नगर प्रमुख लामाले उपमहानगरले धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले धार्मिक पर्यटन विकासमा पाथिभराको महत्वपूर्ण योग्दान रहने जिकिर गर्दै हेटौंडा आउने पर्यटकलाइ घुम्ने र समय विताउने धेरै पर्यटकीय गन्तव्य रहेको बताइन् ।

हेटौंडा–७ निवासी समाजसेवी एवं व्यवसायी नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो । एउटै ठूलो ढुंगामा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्वारा करिव एक महिना लगाएर निर्माण गरिएको खतिवडाले जानकारी दिए ।

त्यस्तै चैत २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार नगर प्रमुख लामाले शुभारम्भ गरिन् । बाजागाँजा, झाँकी सहित कलश यात्रा सहित महायज्ञ सञ्चालन गरिने पाथिभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताए । सप्तशती चण्डी पाठ एवं नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राम्हणद्वारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दशैंका दिन समापन हुने पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताए । मन्दिरमा वैशाख १, ४ र ५ गते महापुजा हुने आयोजकले जनाएको छ ।