हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा कृषि सहकारी सस्था लधु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।

लधु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थित खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्याममा लागेको साना व्यवसायी मध्य गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ ।

मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएका उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाउँदा आफुहरु निकै खुशी भएको उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

गाउँमा आयआर्जनका लागि केही काम नभइ बसेका हामिलाई उपमहानगरले कामका लागि दिएको हौसलाले अहिलेको अवस्था आएको उनले बताइन् । ‘यसै बसेका थियौं, काम गर्नका लागि लगानी गरिदिने नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं ’ अध्यक्ष गुरुङले भनिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन् ।

अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् । अब बजारीकरणको बाटो खुलेको छ, उपमहानगरले सहयोग गरे हामि समुहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउँने बताइन् । गत असोजमा कामको लागि सम्झौता गरेसँगै समुहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उद्योग शाखाको तथ्याङक अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई बिभिन्न प्रकारका तालिम दिएपनि अहिले २६८ जना उद्यममा जोडिएको जनाएको छ ।