हेटौंडा। हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताएकी छन् । उद्यमी समुहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजार सहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठुलो होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरीक पहल गर्ने बताइन् । उपमहानगरपालिकाले लगानी गरेर घेरै तालिम तथा अन्तरक्रिया गरेपनि अहिले गरेको सानो लगानीले यहाँका महिलाहरुलाई उद्यमी बनाउँन मद्दत पुगेको बताइन् । उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोशेली घरमार्फत स्थानिय उत्पादनलाई बजारीकरणमा सहयोग गरीरहेको बताइन् ।

स्थानिय उत्पादनलाई बजारीकरण गर्ने तयारी अनुसार नगर प्रमुख लामाले मकवानपुका होटल व्यवसायीसँग छलफल गरेकी छन् । छलफलका क्रममा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको बताए । उनले बाह्य ठाउँबाट ल्याएको गुन्द्रुक भन्दा यहाँको उत्पादन बिक्रीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । प्रयोगका लागि गुणस्तरको कुरा हो सरकारी मान्यता प्राप्त भएपछि हामिलाई प्रयोग गर्न कुनै समस्या छैन सस्थागत रुपमै नगरको उत्पादन बिक्रीका लागि पहले गर्ने बताए ।

यहाँ उत्पादन भएका सामग्रीहरुलाई होटलको मेन्यूमै राखेर बिक्रीगर्न कुनै समस्या नभएको भन्दै उनले संघको बैठकबाटै निर्णय गरेर अघि बढ्न तयार रहेको जानकारी दिए । उपमहानगरपालिका आर्थिक बिकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।