हेटौँडा । सामुदायिक स्तरबाट वितरण गरिएको विद्युतको स्वामित्व हस्तान्तरण गरिएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–७ स्थित, जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भइरहेको विद्युतको स्वामित्व नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

२०७४ सालमा स्थापना भएको सामुदायिक संस्थाले थाहाको महादेव खर्क, छाप क्षेत्रमा एक सय १३ घर धुरीमा संस्था मार्फत विद्युतिकरण भएको थियो । संस्थाले एक कार्यक्रमको आयोजना गरेर विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले हस्तान्तरण कार्यक्रममा बोल्दै थाहा नगरपालिका सहित उत्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ, ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौँडा तथा किर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले उक्त कार्यले नगरमा दिगो विजुली प्रवाह हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको जानकारी दिए । तत्कालीन अवस्थाको आवश्यकता अनुसार सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अब सेवा तथा सुधार प्राधिकरणले गर्ने बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका पूर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारकोलागि तत्कालीन आवश्यकता सामुदायिक विद्युतिरणनै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराए ।

कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नु भएको भन्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ । थाहा नगरपालिका प्रमुख विष्णु विष्ट आदर्शले प्रमुख न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । सामुदायिक संस्थाबाट वितरण भईरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेले निरन्तर गरेको अविभावकत्व र सकारात्मक प्रयासको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानले बताए ।