
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले माध्यमिक शिक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा संचालन गर्ने भएको छ ।
उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आगामी साउन २ गतेदेखि २० गतेसम्म ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको हो ।
उक्त महाशाखाले एक सूचना जारी गर्दै हेटौंडा उपमहानगर अन्तर्गतका विद्यालयबाट एसईई परीक्षामा एनजी ल्याएका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । जारी सूचनामा विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले ग्रेड वृद्धि परीक्षाको तयारीका लागि ५ वटा सामुदायिक विद्यालयमा बिहान ६ देखि १२ सम्म अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने उल्लेख छ ।
जसमा हेटौंडा–३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा–४ को भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–९ को प्रगति माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक विद्यालय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय रहेका छन् ।
निःशुल्क कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले ५ वटा विद्यालयमध्ये एउटामा रोजेर सहभागी हुन पाउनेछन् ।ग्रेडवृद्धि परीक्षा साउन २३ गतेबाट सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्