हेटौँडा । राप्रपा मकवानपुरले जिल्लामा रेबिज रोग नियन्त्रण गर्न माग गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाइ ज्ञापनपत्र बुझाएको छ । टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल समक्ष तीन बुँदे ज्ञापनपत्र बुझाएको हो ।

मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार सिडिओ चिलुवाल समक्ष ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरूको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन प्रभावित भएको र उक्त स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको विषयमा ऋृणिहरुको घर, व्यवसायमा मानसिक यातना पुग्ने गरि तनाव दिने प्रवृत्ति रोक्नुपर्ने उल्लेख छ ।

बैँक तथा वित्तीय संस्थाहरु , बिमा कम्पनीहरू , धितो मुल्यांकनइन्जिनियरिङ कन्सलटेन्सीहरू मिलेमतोमा धितो मुल्यांकन चलनचल्ती भन्दा कम राख्ने, रोक्का भएको स्वीकृत कर्जा प्रवाह नगर्ने र अनुचित लाभ लिने मनसायले कर्जा प्रक्रियामा दुख दिने आदि विषयमा नियम बमोजिम गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजिकरण अबिलम्ब सम्बन्धित निकायबाट गर्न गराउने प्रबन्ध मिलाउने विषय समेटिएको थियो ।

राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, बागमती प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, क्षेत्रिय सचिव बिकास दुलाल, युवामोर्चा अध्यक्ष विवेक बिक्रम शाह, हेटौँडा नगर अध्यक्ष अरुण लामा समेतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।