
हेटौँडा । हरित नगरी (ग्रीन सिटी) कोे पहिचान बनाएको हेटौँडा अहिले फूलैफूलको शहरका रुपमा परिचित छ ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा उपमहानगरपालिकाले हेटौँडा बजार तथा आसपासको क्षेत्रलाई फूलैफूलको हरियाली शहर बनाउने अभियानमा जुटेको हो । मुख्य शहरका मूल सडकमा पनि हरियाली प्रवद्र्धन गर्न उपमहानगरपालिका चुकेको छैन । मुख्य बजार क्षेत्रमा वर्षौंअघि लगाइएका अशोकका रुख आज शहरको ‘सान’ जस्तै बनेका छन् ।
हेटौँडा बजारको प्रत्येक चोकचोकमा गमला राखेर फूलको बिरुवारोपण गरिएको छ । त्यसको रेखदेख गर्न र गमलामा पानी हाल्न हेटौँडा उपमहानगरपालिकाकै कर्मचारी खटिने गरेका छन् । हेटौँडा बजार र आसपासका क्षेत्रमा फूल रोप्ने अभियानलाई तिव्र पार्न आफ्नै नर्सरी स्थापना गरेर फूल उत्पादन गर्ने कार्य हेटौँडा उपमहानगरपालिकाले गरिरहेको वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका केशव प्रसाद देवकोटाले जानकारी दिए । नगर परिसरमा स्थानीयस्तरमा उत्पादन हुने फूलको विरुवा उत्पादन गर्न प्लाष्टिकको टनेलभित्र नर्सरी स्थापना गरिएको उनको भनाइ छ ।
हेटौँडा बजार क्षेत्रको मत्स्य विकास केन्द्र, नगरपालिकारोड, कान्तिराजपथ, मकवानपुर क्याम्पस गेट लगायत सडकको डिभाइडर लगाइएका पूmलले शहरको सुन्दरता बढाएको छ । हेटौँडा ५, ६, ७ र राप्ती तटिय क्षेत्रमा पनि मेयरको सक्रियतामा वृक्षारोपण हुँदै आएको छ । नगरले आफ्नै घर वरपर भएका फूलहरूको संरक्षण गर्न नगरवासीलाई अनुरोध गर्दै आएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिकाले नगरमा घर बनाउँदा अनिवार्यरूपमा फलफूलका बिरुवा रोप्न अनुरोध पनि गरेको छ । शहरलाई व्यवस्थित र आकर्षक बनाउन सडकको दायाँबायाँ फुलको बिरुवा रोपिएको हो ।
गत आर्थिक वर्षमा हेटौँडा उपमहानगरपालिकाको नर्सरी र डिभिजन वन कार्यालयबाट हेटौँडाको विभिन्न स्थानमा दश हजार बढी फूल, फलफूल जातका बिरुवारोपण गरिएको थियो । उपमहानगरले हरित हेटौँडा बनाउने अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने नगर प्रमुख मीना कुमारी लामाको भनाई छ । २०७१ सालमा नेपाल सरकारबाट वातावरण दिवसको अवसरमा देशभरबाट सफा सहरका रुपमा प्रथम भई हेटौँडाले नगद पाँच लाख रुपैयाँ पुरस्कार समेत पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्