हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपक बहादुर सिंहले आँखा स्वास्थ्य कार्यक्रमलाई टेवा पुर्याउने उद्देश्यले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार ९ सय ९९ रुपियाँ सहयोग गरेका छन ।
उनले एक वर्षको तलब रकममा आफ्नो तर्फबाट थप रकमसहित हेटौँडा आँखा अस्पताललाई सहयोग गरेका हुन । सेवा सुविधा सहितको तलबबापतको ६ लाख १२ हजार रुपियाँ र ३ लाख ८७ हजार थप गरेर चेक डा.सन्दुक रुइतलाई हस्तान्तरण गरे ।
सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपक बहादुर सिंहले निर्वाचनका बेला जनतासँग गरेको वाचा पुरा गरेको बताए । उनले सेवा सुविधा वापत प्राप्त गरेको रकम जनताकै लागि खर्च गर्ने वाचा गरेकाले त्यही अनुरूप डा. रुइत मार्फत हस्तान्तरण गरेको बताए । निःस्वार्थ भावले आम जनताको सेवा कसरी गर्ने भनेर डा. रुइतबाट सबैले सिक्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत डा. रुइतले गरेकोे कामको प्रशंसा जति गरेपनि कम हुने उनले बताए । आँखाको लेन्स बनाउने कारखाना बागमती प्रदेशको राजधानी हेटौँडा स्थित बसामाडीमा निर्माण हुन लागेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै डा सन्दुक रुइतले स्वच्छ मनोभावना र अन्तर आत्माले गरिएको सहयोगप्रति धन्यवाद दिए । सीमान्तकृत जनतामा यो रकम पुर्याउने वाचागर्दै तलबबापतको रकम गरिबलाई दिने कार्य प्रशंसायोग्य भएको बताए । संरक्षक सिद्धिलाल श्रेष्ठले आँखा अस्पतालको सेवा अझै विस्तार गर्ने बताउँदै सहयोगको प्रशंसा गरे ।
हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा ८० हजार भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने ६ हजार जनाको आँखाको अप्रेसन गरिएको हो । यहाँ दैनिक तीनसय बिरामीले सेवा लिइरहेका छन । तीन जना नेत्ररोग विशेषज्ञ डाक्टर मार्फत सेवा प्रदान गरिरहेको अस्पतालले मकवानपुरको मनहरी, बागमती, बकैया, इन्द्रसरोवर, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सेवा केन्द्र मार्फत सेवा दिर्दे आएको अस्पतालका कर्मचारी सुधीर श्रेष्ठले जानकारी दिए । यहाँ मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीबाट सेवाग्राही आउनेगरेको अस्पतालले जनाएको छ । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्