हेटौँडा । च्याउ चिनेर मात्रै खान आग्रह गरिएको छ । विषालु र खान योग्य दुबैथरीका च्याउने पाउने गरेकोमा जङ्गलमा पाइने च्याउ विषालु हुने भएकाले पहिचान गरेर मात्रै खान आग्रह गरिएको हो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना एवम् वनस्पति केन्द्र मकवानपुरको सहभागितामा बिहीबार जिल्लाका पत्रकारहरु सँग भएको सचेतनामूलक कार्यक्रममा विषालु च्याउ चिन्ने तरिकाबारे जानकारी गराइएको हो ।

जङ्गली विषालु च्याउका कारण मकवानपुरमा असार महिनामा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी बिरामी परेकाले सरकारी स्तरबाट यसरी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिले जानकारी दिए । उनले विषालु च्याउबारे जानकारी दिन र च्याउ चिन्नका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय जङ्गली च्याउ खाँदा मृत्यु र बिरामी हुन थालेपछि सचेतना फैलाउने उद्देश्उसहित कार्यक्रम गरिएको उनको भनाइ छ ।

गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका डाक्टर शिव देवकोटाका अनुसार विषालु च्याउको बारेमा जानकारी नपुगेका कारण देशभर हरेक वर्ष सयौंको मृत्यु हुनेगरेको छ । उनका अनुसार नेपालमा एक हजार २ सय ९२ प्रकारका च्याउ रहेका छन् । एकसय ५० थरिका च्याउ खान योग्य रहेका छन । उनका अनुसार एकसय थरिका बिषालु च्याउ रहेकोमा २० थरिका अति नै बिषालु च्याउ रहेका छन ।

प्रायः गिल्स भएको र माटोमा उम्रिने च्याउ विषालु हुने वैज्ञानिक डा. देवकोटाले जानकारी दिए । छिपिएका, भित्र कालो भएका, फेद कुहिएका, सल्ले च्याउ बाहेक थैलो भएको च्याउ र गिर्खा भएको च्याउ खान हुँदैन । डा. देवकोटाका अनुसार अमानिटा प्रजातिका च्याउ खाए ज्यान जाने गरेको छ । विषालु च्याउ खाएपछि पखाला लाग्ने, बान्त हुने र पेट दुख्ने गर्दछ । च्याउ खाएपछि यस्ता लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिन उनले आग्रह गरे ।