हेटौँडा । तिलगंगा आँखा अस्पताल काठमाडौंले हेटौंडामा बनाइरहेको इन्ट्राओकुलर लेन्स उद्योगको निर्माण कार्य धमाधम भइरहेको छ । हेटौंडा उपमहानगरपालिका–३ वसामाडीमा उद्योगको भवन निर्माण तीव्र गतिमा भइरहेको हो ।

२०८३ कात्तिकमा ईन्ट्राओकुलर लेन्स उत्पादन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइरहेको तिलगंगा आँखा अस्पतालका निर्देशक एवं लेन्स उद्योग निर्माण कार्यमा खटिएका सिद्धिलाल श्रेष्ठले बताए ।

३१ हजार ९ सय ७६ स्वक्याएर मिटरमा फैलिएको उक्त भवनको बेसको ढलान सकिएको छ । लेन्स उद्योगको भवन निर्माण गर्न दैनिक ४० जना कामदार खटिएका छन् । करिब २६ करोड लागतमा हिमालियन विर्ल्डस एण्ड ईन्जिनियरिङ निर्माण कम्पनीले २०८० माघदेखि भवन निर्माण सुरु गरेको हो ।

२ विगाहा २ कठ्ठा जमिनमा फैलिएको उद्योगको निर्माण कार्य २०८२ चैतसम्म सक्नुपर्ने सम्झौता छ । दुई तले उक्त भवन निर्माण सम्पन्न भएको ६ महिनामै उपकरण जडान गरेर २०८३ कात्तिकसम्म लेन्स उत्पादन गर्ने अस्पतालको लक्ष्य छ ।

अहिले उक्त भवन दुई तले निर्माण गरे पनि पछि थप दुई तला थप्ने गरी ‘स्टक्चर’ निर्माण गरिएको श्रेष्ठले बताए । लेन्स उद्योग संचालनका लागि अस्पतालले करिब २ करोडमा एक दशकअघि जग्गा खरिद गरेको थियो । पहिलो र दोस्रो तलाका कोठा र भवनमा लेन्स उद्योग संचालन गरे पनि तेस्रो र चोथौ भवन निर्माण गरेपछि एप्रोन, माक्स, सेनेटरी प्याडलगायतका स्वास्थ्य सामग्री उत्पादन गर्ने योजना रहेको छ ।

उद्योगले पहिलो वर्ष ७ लाख लेन्स उत्पादन गर्ने जनाएको छ । दोस्रो वर्ष १० लाख लेन्स उत्पादन हुने अस्पतालले जनाएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको उत्पादन विभाग ‘द फ्रेड हलोज इन्ट्राओकुलर लेन्स ल्याब्रोटरी’ अब केही समयपछि औपचारिक रूपमा हेटौंडामा इन्ट्राओकुलर लेन्स उद्योगको रुपमा रुपान्तरित हुने अवस्थामा पुग्दै छ,’ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतको भने, ‘उद्योग संचालनमा आएपछि हाम्रो उत्पादन क्षमता संख्यामा त बढ्छ नै, विभिन्न प्रकारका प्रिमियम लेन्स पनि उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं ।’

अहिलेसम्म तिलगंगाको भूइँतलामा रहेको ल्यावबाट लेन्स उत्पादन भइरहेको थियो । आँखाभित्र राख्ने लेन्स नेपालमै बनाउन सकिन्छ भन्दा कुनै बेला महत्त्वाकांक्षी सोच भन्दै आलोचना गरिन्थ्यो । तर, डा. रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ४० मुलुकमा ६५ लाखभन्दा बढी मानिसको आँखामा लगाइएको छ ।

‘हेटौंडामा लेन्स उत्पादन भएपछि अन्य थुप्रै प्रकारका चिकित्सकीय उपकरण उत्पादनका ढोका खुल्छन्,’ डा. रुइतले भने,‘लेन्स उत्पादन गर्नु भनेको कुनै पनि विद्युतीय सामग्रीमा प्रयोग हुने चिप्स उत्पादन गरे सरहको प्रविधि हो, लेन्स उत्पादनलाई मानक मानेर अन्य सामग्री पनि उत्पादन गर्न सक्छौं ।’ इकान्तिपुरबाट