हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ बटा सूचकहरुमध्ये ४९ वटा सूचकमा सत प्रतिशत नतिजा हासिल गरेसँगै वडालाई बालमैत्री घोषणा गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

५१ मध्ये २ बटा सूचक भने १५ प्रतिशत मात्रै नतिजा हासिल भएको जनाइएको छ । आगामी भदौ २८ गते एक समारोहकाबीच ४ नम्बर वडालाई निकृष्ट बाल श्रम मुक्त बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त बडा घोषणा गर्न लागिएको हेटौंडा ४ की वडा सदस्य गीता त्रिपाठीले जानकारी दिइन् । समारोहकैबीच तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको वडाले जनाएको छ ।

घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार यस वडामा १४ हजार ७३५ जनसंख्या रहेको छ । १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ४ हजार २७० छन् । वडामा सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । समुदायस्तरमा र विद्यालयस्तरमा गरी २० वटा बाल समूहलाई क्रियाशील बनाइएको छ । समारोह सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान वडाले गरेको छ ।