हेटाैँडा । मकवानपुर जिल्लाको सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ३ दिनको प्रयासपछि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार सिस्नेरी स्वास्थ्य चौकीमा प्रसूतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइबा र इन्द्रसरोवर-३ सानुटार बस्ने सुशीला घिसिङलाई पाटन पठाइएको हो । उनीहरूलाई सिस्नेरीमा प्रसूति गराउन नसकिएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको पुडासैनीले बताए ।

`हामीलाई जानकारी भएअनुसार एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिनअगाडि स्वास्थ्यचौकीमा भर्ना हुनु भएको रहेछ । सुत्केरी हुने समय नाघिसकेको छ । यहाँ सुत्केरी हुन नसकेपछि जिल्ला प्रशासनसँग समन्वय गरेर हेलिकप्टरबाट उद्धार गरेका हौँ,´ अध्यक्ष पुडासैनीले भने ।

गत शुक्रबार र शनिबारको लगातार वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्ध रहेको छ । वर्षाले कुलेखानी जलविद्युत् केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । सडक नै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन । सिस्नेरीमै एन्फा एकेडेमीका ६ जना जुनियर फुटबलरको पहिरोमा पुरिएर निधन भएको थियो ।