
हेटाैँडा । मकवापनुर जिल्लाको तीनवटा स्थानीय तहको सातवटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ ।
शनिबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले इन्द्रसरोवर गाउँपालिका–१, २, ३, ४, ५, भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१० लाई प्राकृतिक विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अध्यक्षतामा बसेको बैठकले यस निर्णय कार्यान्वयनका लागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
‘हामीले यस क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । क्षतिको हिसाबले पनि असाध्यै धेरै भएको देखिन्छ । त्यसकारण संकटग्रस्त क्षेत्र घोषणाका लागि सरकार समक्ष सिफारिस गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी चिलुवालले भने ।
उनका अनुसार इन्द्रसरोवर गाउँपालिकामा यसपटक विपद्ले बढी क्षति गरेको छ । हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी र फाखेल सडक खण्ड यसै पालिकामा रहेको छ । जुन एकहप्ता अगाडिको अविरल वर्षाले क्षतिविक्षत भएका छन् । पहिरोमा परेर ६जना जुनियर फुटबलरले ज्यान गुमाएको स्थान पनि यसै पालिकामा पर्छ ।
प्रतिक्रिया दिनुहोस्