हेटौँडा । जमिन बाँझो हुन थालेपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यले कृषकलाई अनुदान दिने भएको छ । पालिकाले जमिन भाडामा लिएर खेती गर्ने कृषकलाई भाडाबापतको रकम उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।
कृषि विकास कार्यक्रम तर्फ जमिन भाडामा लिई खेती गर्ने कृषकलाई भाडा वापतको रकम गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए । आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि, २०८१ बमोजिम गाउँपालिका भित्र जमिन भाडामा लिई खेती गर्ने वा भाडामा लिई खेती गरिरहेका कृषक, कृषक समूह सहकारी समिति, कृषि फर्म–कम्पनीहरुलाई भाडा वापतको रकम उपलब्ध गराउने भएको उनले जानकारी दिए ।
पालिकाले प्रति रोपनी बढीमा दुई हजार अनुदान उपलब्ध गराउने भएको हो । पालिकाले कम्तीमा तीन कठ्ठा अर्थात दुई रोपनी जमिन भाडामा लिई खेती गर्नुपर्नेछ वा गरेको हुनु पर्नेछ उल्लेख गरेको छ । पालिकाले जमिन भाडामा लिई खेती गर्ने कृषकलाई भाडा वापतको रकम उपलब्ध गराउनका लागि छ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाभित्रका विपन्न, सीमान्तकृत, दलित, जनजाति साथै बेरोजगारको सूचीमा परेकालाई विशेष प्राथमिकता दिइने पालिकाको सूचनामा उल्लेख छ ।
त्यस्तै पालिकाले तेलनबाली पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । आव २०८१–८२ को बार्षिक कार्यक्रम अनुसार प्रदेश सशर्त कृषि विकास कार्यक्रम तर्फ “स्थानीय तहमा विनियोजन सशर्त अनुदान कार्यक्रम कार्यन्वयन कार्यविधि २०८१ बमोजिम तेलनवाली सूर्यमुखी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पालिकाभित्र तेलहनबाली सूर्यमुखी खेती गर्ने किसानका लागि अनुदान दिन आठ लाख रुपियाँ बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष स्याङ्तानको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्