
हेटौँडा । चितवनको रत्ननगर नगरपालिकामा भएको तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ । नेपाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा हेटौँडाले चितवनको राप्ती नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।
प्रतियोगिताको उपाधि विजेता हेटौँडाले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राप्तीले एक लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामा, रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादव प्रसाद पाठकले विजेता र उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच समुईल सुनार घोषित भए भने बेष्ट प्लेयर रोशन दोङ्ग भए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिकासहित १० वटा टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्