हेटौँडा । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका १२ को रिक्त वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा विजयी भएका अर्जुनप्रसाद तिवारीले शपथ लिएका छन ।

वडाध्यक्षमा निर्वाचित तिवारीले सोमबार उपमहानगरपालिका हलमा आयोजित शपथ ग्रहण कार्यक्रममा तिवारीले वडाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिएका हुन ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामाले नवनिर्वाचित वडाध्यक्ष तिवारीलाई शपथग्रहण गराइन ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगर पालिकाका उपप्रमुख राजेश बानियाँलगायत राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

सोमबार सम्पन्न मतगणनाको अन्तिम मत परिणम अनुसार नेपाली कांग्रेसका  तिवारीले दुई हजार ६३ मतसहित निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानले एक हजार ५६० र नेकपा एमालेका राजेश नगरकोटीले एक हजार ३९८ मत प्राप्त गरेका थिए ।

वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार रहेका थिए ।

आइतबार भएको मतदानमा उक्त वडाका नौवटा मतदान केन्द्रमा गरी ६८.०९ प्रतिशत अर्थात् ५४ सय ८३ मत खसेको थियो । वडामा कुल मतदाता आठ हजार ५३ रहेका छन् ।

२०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएसँगै रिक्त भएको उक्त पदमा उपनिर्वाचन भएको हो ।