हेटौंडा । जिल्ला प्रहरी कार्यालय हेटौंडाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइसकेपछि फरार रहेका १३ जनालाई एकै दिन पक्राउ गरेको छ ।
अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका धादिङ गजुरीका ३० वर्षीय अनिल लामा भन्ने केशरबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार हेटौंडा बजारबाट पक्राउ गरेको छ ।
यसैगरी मकवानपुरको वकैया गाउँपालिका—१० का एक महिलासहित ८ जनालाई कुटपिट मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकामा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । तिनीहरु ८ जनालाई जनही ९ सय ३० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यसैगरी कुटपिटबाट गर्भपतन भएको अदालतले ठहर गरी जनही २ सय रुपैयाँ जरिवाना गरेपश्चात् फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरी असुलीको लागि अदालतमा पेस गरेको थियो ।
यस्तै चेक अनादरमा दोषी ठहरिएका हेटौंडा उपमहानगरपालिका—१६ का सुरेश आचार्यलाई पनि पक्राउ गरी अदालत पेस गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
चालु आवको साउनदेखि माघको ६ गतेसम्म मकवानपुर प्रहरीले अदालतले दोषी ठहर गरेका तर फरार रहेकामध्ये ११४ जनालाई पक्राउ गरी अदालतमा पेस गरिसकेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्