
हेटौँडा । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटलहरु सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने दामन क्षेत्रका आधा दर्जन बढी होटलहरु अहिले सुनसान बनेको यहाँका होटल व्यवसायीको गुनासो छ ।
तराई र काठमाडौँ जोड्ने मुलुकको सबै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको हो । पछिल्लो सयम पर्यटकीय क्षेत्रको विस्तार र नयाँ गन्तव्य थपिनुका साथैँ तराईसँग काठमाडौँ जोड्ने सडक सञ्जालको नयाँ विकल्प र बिस्तार सँगै यहाँको पर्यटनमा कमी आएको स्थानीयवासीको भनाई छ ।
दामन क्षेत्रमा दुई दशकदेखि होटल व्यवसाय गर्दै आउनुभएका राजेन्द्र भुजेलले हेटौँडा–काठमाडौँ तीन घण्टामा पुग्ने बाटोहरू खुलेपछि यो सडक खण्डबाट आवतजावत गर्ने सवारी साधन पनि न्यून भएको बताए । “यो बाटोबाट हुँदै हेटौँडाबाट काठमाडौँ जाँदा ६÷७ घण्टा लाग्छ, हेटौँडा–कुलेखानी र कान्तिलोकपथ हुँदै काठमाडौँ जाँदा छोटो समयमै पुग्न सकिनेभएकाले यो सडक खण्ड प्रयोग गरेर आवतजावत गर्नेको सङ्ख्या न्यून छ,”–होटल व्यवसायी भुजेलले भने । आफ्नै घरमा होटल व्यवसाय सञ्चालन गरेका कारण मात्रै यो पेसामा टिकी रहेको बताउँदै उनले व्यापार नहुँदा होटल व्यवसाय नै धराशायी अवस्थामा पुगेको बताए ।
विगत २२ वर्षदेखि दामनमा होटल सञ्चालन गरिरहनुभएकी होटल शेर्पाकी सञ्चालक मञ्जु शेर्पाले पर्यटकको आगमन आधा भन्दा बढी घटेको जानकारी दिइन । जाडो सिजनमा हिउँ परेको बेला वीरगन्ज, चितवन, हेटौँडाबाट आन्तरिक पर्यटक आउनेगरेपनि यसपालि हिउँ नपरेका कारण पर्यटकको आगमन न्यून भएको रहेको उनले बताइन ।
विगत १४ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अधिकारी होटल एण्ड लजका सञ्चालक सुरज अधिकारीले पनि विगतको तुलनामा यसबर्ष धेरै कम व्यापार भएको बताए । चार दशकदेखि होटल व्यवसाय गर्दै आउनुभएकी सुधेसा भुजेलले कुलेखानीको बाटो नखुल्दा व्यापार राम्रो भए पनि अहिले यो राजमार्ग हुँदै जानेको सङ्ख्या न्यून रहेको बताइन । पहिले नियमित खाना बनाउनेगरेपनि अहिले अर्डर अनुसार मात्रै खाना बनाउने गरेको जिकिर गर्दै पर्यटकको आगामन घटेकोमा उनले चिन्ता व्यक्त गरिन ।
मकवानपुरको थाहा नगरपालिकासँग २० वर्ष अवधिका लागि भाडामा लिएर दामन रिसोर्ट सञ्चालन गरिरहेका गोविन्द प्रसाद घिमिरेले केही समय बन्द भएको रिसोर्ट पुनः निर्माण गरेर सञ्चालन गरिरहेको बताए । दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढी उच्च हिमशिखरहरुको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिने बताउँदै उनले आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरू, प्रशस्त जैविक विविधता, सम्पदाहरू रहेकाले यहाँको भ्रमण गर्न आग्रह गरे । पर्यटकीय स्थलको रूपमा रहेको दामन काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा रहेर पनि सुनसान अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्