चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाटमा शनिबार बिहान भएको दुर्घटनामा २१ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिङ सडकखण्डमा आज बिहान साँढे सात बजे ट्रक, बस, टेलर, माईक्रो, बलेरो र कार गरि सातवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक–आपसमा ठोक्किँदा पछाडिपट्टिबाट आएका अन्य सवारीहरू पनि एकपछि अर्को गरी ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बसको पछाडि आएको ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको ईभी माईक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबि ८४७० नम्बरको कार समेत एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परेका २१ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना नयाँ मेडिकल कलेज भरतपुरमा र चार जना जनता केयर अस्पतालमा उपचाररत छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । ट्राफिक प्रहरी र स्थानीयहरूको सहयोगमा सवारी साधन हटाउँदै सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।