हेटौंडा । पश्चिम मकवानपुरको मनहरी–७ रमौली निवासी किसान हरि शरण अर्यालले बाह्रैमासे फल्ने अर्गानिक कागती खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । उनले व्यवसायिक कृषि फर्म मार्फत कागती, ड्रागन, कुरिलोको व्यवसायिक खेती गरिरहेका छन । उनले विषादी, रासायनिक मल र कुनैपनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेको बताए ।

उनले २०७६ सालदेखि सुन कागती र ड्रागन फुड लगाउन सुरु गर्नु भएको हो । ब्रम्हकाली निम्न माध्यामिक विद्यालय सँग १५ वर्षका लागि जग्गा भाडामा लिएर दुई बिगाहा क्षेत्रफलमा साढे छ सय कागती, कुरिलो र एक विगाह क्षेत्रफलमा दुई हजार ड्रागन खेती गरिरहेका हुन । कागतीको बिचमा पनि पोल गाडेर ड्रागन खेती गरिएको छ । २०६७ सालदेखि आफ्नै आठ कठ्ठा जग्गामा चारवटा सेड बनाएर उनले कुखुरा पालन पनि गर्दै आएका छन । अर्गानिक खेती गरिरहेका अर्यालले कुखुरा र गाईबस्तुको मल प्रयोग गर्दै आएका छन ।

चारवर्षअघि कागती खेती थालिएकोमा दुई वर्षपछि उत्पादन दिन सुरु गरेको हो । कागती खेतीबाट उनले सबै खर्च कटाएर वार्षिक रुपमा छ लाख रुपियाँ आम्दानी गर्दै आएको बताए । वार्षिक करीब डेढ लाख रुपियाँ लगानी लाग्ने गरेको उनले जानकारी दिए । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउछन ।

‘हाम्रो जग्गाहरु धेरै बाझो छन्, हामी विदेश गएर पसिना बगाईरहदा पनि त्यो जग्गाले हामीलाई सर्राप्छ,’– किसान अर्यालले भने । बाबु, बाजेको पालैदेखि कृषि गर्दै आएका थियौं, त्यो बेलामा परम्परागत कृषि थियो, खानलाउन मात्रै ठिक्क हुन्थ्यो । हामी व्यवसायीक रुपमा जानु पर्छ, जसले गर्दा छरछिमेक,इष्ट मित्र, दाजुभाइ सबै व्यवसायीक रुपमा जाँदा देशलाई समृद्ध बनाउन सहयोग मिल्ने उनको विश्वास छ । स्वदेशमै काम गरेर उत्पादन गर्न सके विदेशबाट आउने आयत बन्द गरेर देशको आय वृद्धि गर्न सकिने उनको भनाइ छ । भारतीय कागती भन्दा यहाँकै कागती उपभोक्ताले मन पराउने भएकाले बजारको अभाव नरहेको उनले बताए ।

कृषक अर्यालले उत्पादन गरेको कागती चितवन र हेटौँडा बजारमा खपत हुने गरेको छ । बाह्रैमासे जातको कागती वर्षैभरि फल्ने भएकाले धेरै फलेको बेला कम मुल्य भएपनि महङ्गो बेलामा पनि फल्ने भएकाले राम्रो आम्दानी हुनेगरेको छ । प्रतिकेजी ४० रुपियाँदेखि १८० सम्म थोक मूल्यमा बिक्री हुनेगरेको छ । सुन कागतीको एम टु जातको कागतीले राम्रो उत्पादन दिएको किसानको भनाइ छ । अर्याल राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पनि सम्मानित भइसक्नु भएको छ । मेहनत पनि कम लाग्ने र आम्दानी दिइरहने भएकाले पछिल्लो समय जिल्लामा व्यवसायिक कागती खेती तर्फ किसान आकर्षित भएका छन् ।