हेटौंडा । भोली बिहान शुक्रवारबाट हुने स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले सबैलाई आग्रह गरेका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै श्रेष्ठले मकवानपुरका सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर मतदान स्थल पुगेर मतदान गर्न आग्रह गरेका हुन । शान्ति सुरक्षाको व्यवस्था धेरै राम्रो रहेको बताउँदै उनले मकवानपुरमा राजनीतिक दलहरुको पनि राम्रो वातावरण रहेको बताए । उनले भय रहित वातावरणमा बिश्वस्त भएर स्वतन्त्रपूर्वक मतदान गर्न सबै मतदाताहरुलाई अपिल समेत गरेका छन । उनले जेष्ठ नागरिक, गर्भवती महिला, शारिरीक रुपमा अशक्त व्यक्तिलाई लाइनमा बस्न नपर्ने गरि मतदान गर्ने व्यवस्था मिलाइएको बताए ।

स्थानीय निर्वाचनको लागि मकवानपुरमा आवश्यक तयारी पुरा भएको छ । प्रदेशको राजधानी हेटौंडा सहित जिल्लाका १० स्थानीय तहहरूका सबै मतदान केन्द्रमा निर्वाचनको तयारी पुरा भएको उनले बताए । एक उपमहानगरपालिका, एक नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको मकवानपुरको १६५ वटा मतदान स्थलको ३५६ वटा मतदान केन्द्रमा मतदान कार्यका लागि कर्मचारी खटाइसकिएको छ ।

मतदान केन्द्रहरुको संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन सुरक्षा समितिले थप कडाइका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै मतदान केन्द्रहरुमा सर्वदलीय बैठक सकेर बुथ निर्माणको काम धमाधम भइरहेको छ ।

निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण गरिएको छ । निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९१९ जना मतदाताहरूले मतदानमा सहभागि हुनेछन् । मकवानपुरमा कुल मतदातामध्ये १ लाख ४९ जना पुरुष, १ लाख ४४ हजार ९५९ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेको तथ्याङक छ ।