हेटौंडा । यही शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी बागमती प्रदेशमा अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)का आवश्यक जनशक्ति परिचालनलगायतको काम अन्तिम चरणमा पुगेको हो ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले प्रदेशका १३ वटै जिल्लामा परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको र कतिपय स्थानमा कर्मचारी खटिएर कार्यक्षेत्रमा गइसकेको जानकारी दिए । उनले निर्धारण गरिएको परीक्षा केन्द्रका लागि आवश्यक प्रश्नपत्र परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा पुगिसकेको र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पु¥याउने कार्य भइसकेको बताइन् ।
यसैबीच यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट एसईईमा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा यस वर्षको परीक्षामा भन्दा झन्डै छ हजार जनाले घटेको हो ।
शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष एसईई परीक्षामा प्रदेशका १३ जिल्लाबाट एक लाख सात हजार ६२५ जना परीक्षार्थी सहभागी भएकामा यस वर्ष एक लाख एक हजार ७३३ जना परीक्षार्थी सहभागी हुँदै छन्।
यही चैत २९ गतेसम्म हुने एसईईका लागि प्रदेशभर ४३४ परीक्षा केन्द्र कायम भएको छ। यो वर्षको एसईईमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२८ जना परीक्षार्थी सहभागी हुँदै छन्। निर्देशनालयका अनुसार काठमाडौँ जिल्लामा १२३ र रसुवा जिल्लामा पाँचवटा परीक्षा केन्द्र रहेको छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले निर्देशनालयले एईई परीक्षाका लागि परीक्षा केन्द्र सञ्चालन गर्न आवश्यक पूर्वतयारीका काम सम्पन्न भइसकेको जानकारी दिए । परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
मकवानपुरको कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा कैलाश गाउँपालिकामै सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक÷एक जना छात्रछात्रालाई आफूले पाउने एक÷एक महिनाको सेवासुविधाबापतको रकम दिने घोषणा गरेका छन । वडाध्यक्षका पालिकाभित्रका एसईई परीक्षामा सहभागी विद्यार्थीलाई प्रोत्साहित गर्न उक्त पुरस्कार दिने घोषणा गरेको जानकारी दिए । गोरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्