हेटौंडा । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने भएको छ । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि मन्त्रालयले विभिन्न प्रयास थालनी गरेको हो ।
डढेलो नियन्त्रण एवं न्यूनीकरणका लागि प्रदेशका हरेक डिभिजन वन कार्यालयमा १० जनाका दरले हरित स्वयंमसेवक नियुक्त गरिएको वन निर्देशनालय हेटौँडा मकवानपुरका वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए । “प्रदेशका १५ डिभिजन कार्यालयमा १० जनाका दरले डढेलो नियन्त्रणका लागि हरित स्वयंमसेवक करारमा नियुक्त गरिसकेका छौँं, माघ १५ गते छनौंट हुनुभएका उहाँहरुको कार्यकाल असार १५ गतेसम्म हुनेछ,”–वन अधिकृत अर्यालले भने । डढेलो लाग्नुभन्दा अगाडि र जोखीमयुक्त क्षेत्रमा वन कर्मचारीसँग समन्य, सहकार्यगरी वन डढेलो न्यूनीकरण गर्न निर्देशन दिइसकेको उनको भनाइ छ ।
हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उनले बताए । मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वनअन्तर्गतका सबडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ ।
चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । डढेलो नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय र सरोकारवालासंग बैठक, छलफल पनि गरिरहेको छ ।
वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वनक्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक्राइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेको वन तथा वातावरण मन्त्रालयका अधिकृत आठौं संजिव सुवेदीले जानकारी दिए । सालका रुख हुने वनक्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उनले बताए ।
मन्त्रालयका अधिकृत सुवेदीका अनुसार भौगोगिक विकटताका कारण रामेछाप र सिन्धुलीमा लाग्ने आगो निभाउन मुस्किल हुने गरेको छ । डढेलो लाग्ने पछिल्लो तथ्याङक अनुसार रामेछाप, सिन्धुली, काभ्रे र मकवानपुर उच्च जोखीमयुक्त जिल्ला हुन भने रसुवा र नुवाकोट क्षेत्रमा भने कम डढेलो लाग्ने गरेको छ ।
आव २०७७÷७८ मा वन डढेलोले १९ हजार हेक्टर वन नष्ट भएको थियो । डढेलोका कारण साना बोट विरुवा, वन्यजन्तु, घाटगद्दी गरिएको काठ नोक्सानी हुनुका साथैं वन नजिक रहेका बस्तीमा मानविय क्षति समेत हुनेगरेको छ । गत आवको तथ्याङ्कलाई आधार मान्दा चालु आवमा पनि २५ देखि ३० हजार हेक्टर वन क्षेत्र डढेलोले प्रभावित हुन सक्ने वन निर्देशनालयका वन अधिकृत अर्यालले प्रारम्भिक अनुमान गरेका ।
वन जंगलमा लाग्ने डढेलो अधिकांश स्थानीयले नै लगाउने गरेको अध्ययनले देखाएको छ । वनजंगलमा आगो लगाउनेलाई सरकारले कारबाही गर्ने व्यवस्था पनि गरेको छ । वन ऐन २०७६ का अनुसार वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्छ ।
वन व्यवस्थापनको हिसावले प्रदेशमा ४ हजार ५०३ वटा सामुदायिक वन, ३ हजार ३३७ वटा कवुलियती वन, ३९ वटा धार्मिक वन, २ वटा संरक्षित वन र ५७९ वटा नीजि वन रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा कूल क्षेत्रफलको ५१ दशमलव ५३ प्रतिशत वन र २ दशमलव २० प्रतिशत अन्यकाष्ठ तथा बुट्यान क्षेत्रगरी ५३ दशमलव ७३ प्रतिशत वनक्षेत्र रहेको छ । प्रदेशका १३ जिल्ला मध्य मकवानपुरमा सबैभन्दाबढी ६८ दशमलव १५ प्रतिशत र भक्तपुरमा सबैभन्दा कम २० दशमलव १० प्रतिशत वन क्षेत्र रहेको छ ।
बागमती प्रदेश अन्र्तगत चितवन, राप्ती, मकवानपुर, मरिण, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङ डिभिजन कार्यालय रहेको छ । वन निर्देशनालय हेटौँडा मातहत १५ वटा डिभिजन वन कार्यालय र ७ वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालय रहेको छ । प्रदेश सरकार स्थापना पश्चात आर्थिक बर्ष २०७९÷८० सम्म नीजि किसानको ५ हजार ८०० रोपनी भन्दा बढी क्षेत्रफलमा व्यवसायिक प्लट जडिबुटी बृक्षारोपण तथा ७ हजार ४०० रोपनी भन्दा बढी वन क्षेत्रमा व्यवसायिक वृक्षारोपण गरिएको छ । एघारसय ५३ वटा वन पैदावारमा आधारित उद्योग दर्ता भएको छ । १५ वटा डिभिजन वन कार्यालय र वन निर्देशनालयमार्फत बार्षिक २० लाख भन्दाबढी एक बर्षिय र १ लाख भन्दा बढी बहुबर्षिय विरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।












प्रतिक्रिया दिनुहोस्