हेटाैँडा । अविरल वर्षापछि सुरक्षाको कारण देखाउँदै हेटौँडाबाट मकवानपुरका विभिन्न सडक भएर काठमाडौं उपत्यका प्रवेशमा अस्थायी रोक लगाइएको छ । यससँगै मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाँदै गरेका सयौँ सवारीसाधन हेटौँडामा रोकिएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार आगामी तीन दिनसम्म भारी वर्षा र त्यसपछि पहिरो, बाढी तथा सडक अवरोधजस्ता जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ । सोही कारण उपत्यका प्रवेशमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएका छन् ।

शनिबार बिहानदेखि निरन्तर वर्षा भएपछि हेटौँडाबाट राजधानीतर्फ जाने विभिन्न सडकखण्डहरूमा ढुंगा खस्ने, पहिरो जाने र सडक धसिने घटना बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–काठमाडौं जोड्ने मार्गमा सुरक्षाको खतरा बढेकाले उपमहानगरपालिका– १, चौकीटोलमा सवारीसाधनहरू रोकिएको हो ।

प्रहरीका अनुसार परिस्थिति सामान्य भएपछि मात्र आवागमन नियमित गरिनेछ । यसैबिच, यात्रुहरू हेटौँडामा नै रोकिएका छन् भने स्थानीय प्रशासनले सुरक्षा तथा आवागमन व्यवस्थापनका लागि वैकल्पिक उपायहरूबारे छलफल गरिरहेको जनाएको छ ।