हेटौंडा । भेडा/बाख्रामा लाग्ने पिपिआर रोग विरुद्धको खोप कार्यक्रम प्रभावकारी बनाउन हेटौंडामा छलफल भएको छ । स्थानीय तहका पशु सेवा शाखाका पदाधिकारीहरु संग खोप कार्यक्रम प्रभावकारी बनाउन छलफल भएको हो ।

सप्ताहव्यापी रुपमा फागुन १ गतेदेखि फागुन ७ गतेसम्म अभियानको रुपमा संचालन हुने खोप कार्यक्रम प्रभावकारी बनाउन छलफल भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा बागमती प्रदेश सरकारले संचालन गर्न लागेको खोप कार्यक्रम प्रभावकारी बनाउने बिषयमा छलफल भएको थियो ।

पिपिआर रोग विरुद्धको खोप कार्यक्रमका लागि स्थानीय तहबाट एकजना फोकल पर्सन तोक्ने, आवश्यकता अनुसार खोप केन्द्र निर्धारण गर्ने, खोप कार्यक्रम प्रभावकारी बनाउन विज्ञ केन्द्र र स्थानीय तहको समन्वयमा अनुगमन गर्ने लगायतका निर्णय भएका छन ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा.बज्र किशोर ठाकुर, डा.आभास कोइराला, डा.विमोचन पौडेल, डा.प्रदिप बतौंला, देवराज पराजुली, प्रदिप सापकोटा, पशु सेवा शाखा प्रमुखहरु भीमफेदीका कविन घर्ती, राक्सिराङकी शुभेच्छा ढकाल, थाहा नगरपालिकाका रुपेश कुमार मिश्र, इन्द्र सरोवरका नविन अधिकारी, कैलाशका सन्तोषकुमार थिङ, हेटौंडा उपमहानगरपालिका सहायक पशु विकास अधिकृत कृष्ण प्रसाद भट्टराई, बकैया गाउँपालिकाका अशोक कुमार सिंह, मकवानपुर गढी गाउँपालिकाका सत्यनारायण शाह, मनहरी गाउँपालिकाका बरुणकुमार ठाकुर लगायतकाको बैठकमा सहभागिता रहेको थियो ।

विज्ञ केन्द्रको तथ्याङक अनुसार मकवानपुरमा १ लाख ८८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने छ । सप्ताहव्यापी रुपमा संचालन हुने खोप कार्यक्रममा बागमती प्रदेशका १२ लाख ७० हजार भेडा बाख्रामा खोप लगाउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।