हेटाैँडा । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाहरूको प्राविधिक परीक्षण सुरु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञसमूहहरूको संयुक्त टोलीले हेटौँडास्थित मन्त्रालय, कार्यालय र निकायहरूको अवस्थाको मूल्यांकन गरिरहेको छ।

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार काठमाडौंबाट आएका २ जना विशेषज्ञसहितको प्राविधिक टोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरूको विस्तृत जाँच गरिरहेको छ। ‘यो केवल आँखाले हेरेर गरिएको निरीक्षण मात्र होइन, करिब १५ वर्ष अनुभव भएका विज्ञहरूले उपकरणसहित परीक्षण गरिरहनुभएको छ, त्यसैले परिणामप्रति हामी आश्वस्त छौँ,’ उनले भने।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिएको छ र एक–दुई दिनमै क्षतिको यकिन विवरण तयार हुनेछ। पहिलो चरणमा हेटौँडाका मुख्य सरकारी भवनहरूको निरीक्षण सकिएपछि टोली जिल्लास्थित प्रादेशिक कार्यालयहरूमा पनि पुग्नेछ।

प्राविधिक टोलीको प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा बुझाइनेछ। त्यसपछि कार्यदलले आवश्यक अध्ययन र नीतिगत विषयहरू समेटेर मन्त्रीस्तरीय कार्यदललाई सिफारिस गर्ने सचिव मरहठ्ठाले जानकारी दिए। प्रतिवेदनमा प्राप्त सुझावका आधारमा संरचनागत मर्मत (रेट्रोफिटिङ) तत्काल सुरु गरिने र सामान्य क्षतिको मर्मत १० देखि १५ दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ। पार्टिसन, बिजुलीबत्ती, एसीजस्ता गैर–संरचनागत काम भने छुट्टै खरिद प्रक्रियामार्फत अघि बढाइनेछ।

सचिव मरहठ्ठाले प्राविधिक परीक्षण र पुनर्स्थापनापछि प्रदेश सरकारका कार्यालयहरू सुरक्षित रूपमा सञ्चालनमा आउने र भविष्यमा सम्भावित जोखिम न्यूनीकरण गर्न पनि प्रतिवेदन मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे।