हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको साधारण सभामा सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक वर्ष २०८१–८२ मा ४ करोड ५ लाख रुपैंयाको कारोबार गरेको जानकारी दिए ।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णभद्र चौलागाईले आर्थिक वर्ष २०८१–८२ को लेखा परीक्षणको प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गरेका थिए । ऋृण उप समितिका संयोजक केशव धितालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरी खुत्रुके बचत उप समितिका सदस्य गोमा काफ्लेले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्नो साधारण सभामा सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । संस्थाले संस्थापक शेयर सदस्य लक्ष्मण सापकोटा, रामप्रसाद सापकोटा, एकल महिला सेयर सदस्य तर्फ रुद्रकुमारी सापकोटालाई दोसल्ला र नगद सहित सम्मान गरेको छ । संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान तर्फ रामप्रसाद गौतम, हिरादेवी तिमल्सिना लाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

यसै गरी निर्वाचनका संयोजक हिमाल पौडेल, सदस्य रुपेश दुलाल र सदस्य राधिका गौतमलाई सम्मान गरेको छ । त्यसै गरी बढी व्याज बुझाउने गङ्गादेवी धिताल,बढी सेवा शुल्क बुझाउने भावना श्रेष्ठ र खुत्रुके बढी रकम जम्मा गर्ने सान्वी दुलाललाई पनि सम्मान गरिएको छ । यस वर्ष संस्थाले पत्रकार सम्मान तर्फ गोरखापत्र दैनिकका हेटौँडा समाचारदाता तथा अनिरुद्ध खबर डटकमका प्रधान सम्पादक अनिल पराजुलीलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरेको छ ।

त्यसै गरी व्यवसायी तर्फ उत्तम कुमार श्रेष्ठ, एसइई सम्मान तर्फ छात्रामा शिक्षा दुलाल, छात्रतर्फ कौशल पुडासैनी पनि दोसल्ला प्रमाणपत्रले सम्मान गरेको छ । यस वर्ष जोडी शेयर सदस्य तर्फ राजु गौतम र अनिसा पुडासैनीलाई सम्मान गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता साधारण सभा भएको हो । कार्यक्रममा हेटौँडा–६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, वडा सदस्य विजय पौडेल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका संस्थापक अध्यक्ष वासुदेव सापकोटा, नौलो बिहानी कृषि ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष लक्ष्मण कटुवाल, नारी चेतना बचत तथा ऋण सहकारीका अध्यक्ष राधिका गौतम, सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । २०५५ सालमा स्थापना भएको सहकारीमा ६६८ सेयर सदस्यहरू रहेका छन् ।