बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब ४३ किलोमिटर पूर्वोत्तरमा देउताखोलाको सिरानमा अवस्थित छ अम्बास लेक । तल सिमात खोलासित मेल नहुँदासम्मको बकैयालाई स्थानीयले देउताखोला भन्ने गरेका छन् । देउताखोलाको उद्गमस्थलभन्दा केही मिटरमाथि अम्बास लेकको अग्लो भाग समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अम्बासगढी रहेको छ । बकैया गाउँपालिका वडा नम्बर १० मा रहेको अम्बासगढी प्राकृतिक तथा सामरिक दुवै दृष्टिले निकै महत्वपूर्ण देखिन्छ ।

नामकरण

अम्बास लेकको उत्तरमा अम्बास गाउँ छ । अम्बास गाउँको नजिकै रहेकाले पहाडको नाम अम्बास लेक रहन गएको हो । अम्बास लेकमा रहेको कारण नै स्थानीयले गढीलाई अम्बासगढी भन्ने गरिएको छ । गढीको वास्तविक इतिहास र नाम जानकारी हुन नसक्दा जुन बस्तीनिकट र लेकमा रहेको छ, सोही नाम दिएर अम्बासगढी नामकरण गरिएको हो ।

संरचना

एक मिटरसम्म लामा, दुई फिटसम्मका चौडा र एकदेखि डेढ फिटसम्म मोटा ढुङ्गाको व्यवस्थित पर्खालले अम्बासगढी बनेको छ । गढीको निर्माणमा प्रयोग गरिएका ढुङ्गा अन्यत्रबाट ल्याएर मेसिनले काटिएका तथा ताछिएका जस्ता देखिन्छन् । यस गढीको निर्माण धेरै हदसम्म मकवानपुरगढीको संरचनासित मेल खाने देखिन्छ । मूल भवन अष्टकोणाकार पूर्वाभिमुख रहेको छ । मूल भवनको चारैतिर गहिरो खाल्डो रहेको छ । व्यवस्थित खाल्डोको बाहिरी भागमा चारैतिर घुम्न सक्ने मार्ग बनाइएको छ । मार्गबाट खाल्डोमा झरेर मूल भवनको पर्खालमा अहिले पनि मानिस चढ्न सक्ने अवस्था रहेको देखिँदैन । मूल भवनको बाहिरी भित्ता वा पर्खालमा चढ्न तथा समाउन सक्ने गरी कुनै पनि संरचनाको अवशेष देखिँदैन । अझ खाल्डोमा पानी भरिएपछि यो गढी मानिसका लागि बाहिरबाट पूर्ण सुरक्षित र अभेद्य किल्लाका रूपमा हुन सकिने गरी सुरक्षित देखिन्छ । पूर्वतिर प्रवेशद्वारको अवशेष देखिने गढीको माथिल्लो भाग पनि पूर्णतः बन्द छ । छानोको संरचना बुझिनसक्नु छ । पर्खालको माथिल्लो भागमा ठाउँ ठाउँमा बाहिरको दृश्य हेर्न वा शत्रुमाथि आक्रमण गर्न चारैतिर सुरक्षाको दृष्टिकोणले बनाइएका संरचना छन्, जहाँ लुकेर बाह्य आक्रमणको सामना गर्न सकिने र शत्रुमाथि निगरानी तथा आक्रमण गर्न सकिने स्थिति देखिन्छ ।

गढीमा भित्रभित्रै प्रवेश गर्ने र बाहिर कतै टाढा निस्कने गुप्त मार्ग वा द्वार पनि रहेको स्थानीयको भनाइ छ । यसमा प्रवेशका लागि रहेको द्वारलाई बन्द गरिएको छ । मानव बस्ती नभएका कारण गढीभित्र हिंस्रक पशुपन्छी पस्न वा बस्न सक्ने वा अवाञ्छित गतिविधि हुन सक्ने वा गढीको संरचनामाथि आघात पुग्न सक्ने सम्भावनालाई रोक्न बुढापाकाले गढीको द्वार बन्द गरेको हुन सक्ने अनुमान छ ।

उत्तर र दक्षिणतिरबाट ठाडो र विकट पहाडी संरचना तथा पश्चिमतिर पनि अप्ठ्यारो उकालो रहेको अम्बासगढीमा पूर्वोत्तर भागतिर केही फराकिलो डाँडा रहेको छ । यहाँ बौद्ध समुदायको भवन निर्माण भइरहेको छ । यो ठाउँ अत्यन्त सुरक्षित छ तर गढी पूर्णतः पहिचानविहीन अव्यवस्थित अवस्थामा रहेको छ ।

स्थानीयवासीको भनाइ

अम्बासगढीमा कुनै शिलालेख वा ताम्रपत्र वा लेखोट रहेको पाइँदैन । यस गढीबारेमा कुनै इतिहासकारले हालसम्म कतै केही लेखेको स्थानीयवासीले नपाएको र स्थानीयवासीबिच पनि यसको निर्माणको विषयमा कुनै जनश्रुति नरहेको भनाइ रहेको छ । अम्बासगढीको भूगोल र संरचनालाई विचार गरेर स्थानीयवासीले मकवानपुरगढीभन्दा पहिले नै यसको संरचना बनेको अनुमान गरेका छन् । मकवानपुरगढीभन्दा अग्लो ठाउँमा रहेको, त्यहाँभन्दा धेरै बढी ठाउँको अवलोकन गर्न सकिने तथा तुलनात्मक रूपले बढी सुरक्षित रहेका कारण मकवानपुरका सेनवंशी राजाले यसलाई निर्माण गराएको हुन सक्ने स्थानीयवासीको बुझाइ छ तर कुनै कारणले यहाँ बस्न नसकेपछि हेटौँडानजिक रहेको मकवानपुरगढीको निर्माण गराई तत्कालीन मकवानपुर राज्य सञ्चालन गरेका थिए भन्ने अनुमान पनि छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा लोहाङ सेन मकवानपुरका राजा भएपछि विसं १६२२ मा मकवानपुरगढीलाई राजधानी बनाएको कुरा इतिहासमा उल्लेख छ । मकवानपुर राज्यको राजधानीको दृष्टिकोणले अम्बासगढीको निर्माण गरिएको भए यसबारेमा सेन राज्यको इतिहास लेखिनुपर्ने तथा जनश्रुतिमा पनि यसको इतिहास बाँचिइरहनुपर्ने हो, जसरी यस क्षेत्रको लोकइतिहासमा तामाङ राज्य तथा गोल्मो राजाको दरबारको कथा जीवित छ । अम्बासगढीको इतिहास आफैँमा रहस्यमय देखिन्छ ।

मकवानपुरगढीलाई संरक्षण र मर्मत गर्ने काम आवश्यकता अनुसार दशकौँदेखि भइरहेको छ । ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले मकवानपुरगढी प्रसिद्ध भइसकेको छ तर अम्बासगढीबारे प्रचारप्रसार हुन अझै बाँकी छ ।

उत्खनन र संवर्धन

पाँच वर्षअघि अम्बासगढीबारे स्थानीय सरकारलाई जानकारी गराइएको थियो । स्थानीय सरकारको सामथ्र्यले यसको इतिहास खोतल्न सम्भव भएन । यसपछि अम्बासगढी रहेको स्थानीय तह बकैया गाउँपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको थियो । पुरातत्व विभागको एउटा टोलीले अम्बासगढीको स्थलगत अवलोकन भ्रमण गरेर त्यसलाई संरक्षित गर्नुपर्ने बताएको थियो । हालसम्म अन्य पहल भने हुन सकेको छैन । पुरातत्व विभागले गरेको अध्ययनको नतिजा अहिलेसम्म सार्वजनिक नभएका कारण गढीबारे सर्वसाधारणदेखि स्थानीय सरकारसम्मको उत्सुकता रहेको छ ।

एउटा अग्लो पहाडमाथि सताब्दिऔँदेखि अहिलेसम्म विशाल संरचना सुरक्षित छ । यस संरचनाबारेमा स्थानीय सरकारले चासो देखाएको छ र संवर्धनका लागि स्थानीयवासीले पनि प्रयास थालेका छन् । बकैयाखोलाको मुहान र अर्कातिर पातलो बस्ती रहेको यस क्षेत्रको सबैभन्दा अग्लो ठाउँमा निर्माण भएको विशाल संरचनाको अस्तित्वले आफ्नो पहिचानको खोजी गरिरहेको छ ।

अम्बासगढीको इतिहासको खोजी, यसको संरचनाको व्यवस्थित अध्ययन तथा उत्खनन आवश्यक छ । पहिलो हेराइ र बुझाइमा मकवानपुरगढीभन्दा निकैपछि निर्माण भएको जस्तो लाग्न सक्छ । यसको निर्माण कहिले र कसले तथा कुन प्रयोजनका लागि गरेका थिए भन्ने वास्तविकता उजागर गर्नु पर्छ । अम्बासगढीले इतिहासको एउटा नयाँ अध्याय खोतल्ने विश्वास छ । अतः बकैया गाउँपालिकाले अझ बढी चासो लिएर पुरातत्व विभागसित समन्वय गरेर अम्बासगढीको उत्खनन र संवर्धन गर्दै इतिहासलाई जगेर्ना गर्नु पर्छ । अम्बासगढीको पहिचानले यस क्षेत्रमा पर्यटकीय गतिविधि विकास हुने सम्भावना उत्तिकै रहेको छ ।

गोरखापत्रमा सञ्जय साह ‘मित्र’ ले लेखेको लेख हामीले जस्ताको त्यस्तै साभार गरेका हौँ ।