हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले देउसीभैलो खेलेर करिब २७ लाख रुपियाँ सङ्कलन गरेको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर कात्तिक २२, २३ र २४ गते गाउँपालिकाको वडा नं. ३ र ४ का १२ वटा टोल विकास संस्थाका विभिन्न स्थानमा सामूहिक देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा १२ वटा टोल विकास संस्थाबाट २६ लाख ७६ हजार ६४२ रुपियाँ सङ्कलन भएको जानकारी दिए । रकम सङ्कलन हुने क्रम जारी रहेकाले कुल रकम अझै बढ्न सक्ने उनले बताए ।

अध्यक्ष चौलागाईंका अनुसार सुनौलो ज्यालादेवी टोल विकास संस्था, जीवनमौली टोल विकास संस्था, धर्मचुली टोल विकास संस्था, नमुना टोल विकास संस्था, भूमिचसुली टोल विकास संस्था, सुशासन टोल विकास संस्था, सङ्गम टोल विकास संस्था, कालिदेवी मरङ्गे टोल विकास संस्था, कालीदेवी टोल विकास संस्था, बाबियाडाँडा टोल विकास संस्था, देवीडाँडा टोल विकास संस्था र मक्रानडाँडा धमिले टोल विकास संस्थाबाट रकम सङ्कलन भएको हो ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले १२ वटा टोल विकास संस्थामा आबद्ध ८६३ घरधुरीबाट उक्त रकम सङ्कलन भएको जानकारी दिए । सबैको सहयोग, अभिभावक, पूर्वविद्यार्थी, जनप्रतिनिधि तथा शुभचिन्तकको साथका कारण ठूलो रकम जुटाउन सफल भएको उनले बताए ।

देउसीभैलोबाट सङ्कलित रकममध्ये एक लाख ८९ हजार ४८९ रुपियाँ खर्च भएको विवरणसमेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । सङ्कलित रकम स्वर्ण महोत्सवमा खर्च गरी बाँकी रकम विद्यालयको अक्षय कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ ।

देउसीभैलोमा सबैभन्दा बढी मकवानपुरगढी–३ निवासी हरिप्रसाद आचार्यले ७७ हजार ७७७ रुपियाँ सहयोग गर्नुभएको थियो । विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासमा आफू सदैव सहयोग गर्न तयार रहेको उनले बताए ।

मकवानपुरको पूर्वी क्षेत्रको गहनाका रूपमा परिचित भानु माध्यमिक विद्यालयमा हाल ५२० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक थापाले जानकारी दिए । विद्यालयले आगामी पुस ११ गते स्वर्ण महोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी