हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबारबाट सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै एनआरटी सेमिफाइनल प्रवेश गरेको हो भने जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । विजयी टिमले उपाधीका लागि बिहिबार विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।